काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सल्लाहार समूहमा नेपालमा वातावरणीय स्वास्थ्य वैज्ञानिक डा.मेघनाथ धिमाल नियुक्त भएका छन् । डब्लूएचओको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहको विज्ञ सदस्यमा नियुक्त भएका हुन् ।
नसर्ने रोगहरूको रोकथाम, नियन्त्रणमा हालका र भावी चुनौतीहरू पहिचान गर्ने, डब्लूएचओलाई आवश्यक पर्ने रणनीतिक योजनाहरू सल्लाह दिने कार्यहरूमा भूमिका रहेको डा. धिमालले बताए । प्राविधिक सल्लाहारका रुपमा विश्वभरका २४ जनालाई नियुक्त गरिएको छ । उक्त सल्लाहारकार टिमको दुई वर्षको कार्यकाल हुनेछ ।
डा. धिमालसँग वातावरणीय स्वास्थ्य,जलवायु परिवर्तनको अनुसन्धान क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ । हाल उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का मुख्य अनुसन्धान अधिकृतको रूपमा कार्यरत छन् ।