काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि काठमाडौंमा शुरु भएको छ । भेला काठमाडौंमा दुई दिनसम्म चल्ने छ । भेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन् । यस्तै भेलामा एमालेका अध्यक्ष केपी शर्माको उपस्थित रहेको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागीता जनाएका छन् ।
यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी गराइएको छ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था, महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसदबाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो । भेलामा सहभागी महिलाहरुले १२ वटा समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आयोजकले जनाएको छ ।