काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन सम्बन्धी महत्वपूर्ण प्रस्ताव पेश गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले सो प्रस्ताव पेश गरेका हुन्।
पदाधिकारी संख्या घटाउने प्रस्ताव
प्रस्तावअनुसार हालको १९ सदस्यीय पदाधिकारी संरचनालाई घटाएर १५ सदस्यीय बनाउने तयारी गरिएको छ। प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाई अध्यक्ष, महासचिव, उपमहासचिव १ जना, उपाध्यक्ष ५ जना र सचिव ७ जना रहने व्यवस्था गरिएको छ।
केन्द्रीय संरचना छोट्याउने तयारी
एमालेको केन्द्रीय कमिटीलाई पनि २५१ सदस्यमा सीमित बनाउने प्रस्ताव पेश गरिएको छ। यसमध्ये एक तिहाइ सदस्य पोलिटब्युरोमा समावेश हुनेछन्, जसअनुसार पोलिटब्युरोको आकार ८३ सदस्यीय हुनेछ।
सचिवालय हटाएर स्थायी कमिटी
पार्टीको सचिवालय व्यवस्था हटाउने प्रस्ताव पनि पारित गरिएको छ। त्यसको सट्टामा १५ सदस्यीय पदाधिकारी समूहलाई नै स्थायी कमिटीका रूपमा मान्यता दिने भनिएको छ।
उमेर र कार्यकालको सीमा हटाउने
पार्टीको विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमा हटाउने प्रस्ताव पनि गरिएको छ। यसले वरिष्ठ नेताहरूलाई सक्रिय राजनीतिमा निरन्तरता दिने बाटो खुला गर्ने अनुमान गरिएको छ।
एमालेले विधान संशोधनका विषयमा निर्णय लिएर आगामी महाधिवेशनमा अनुमोदन गराउने तयारी गरिरहेको छ। बैठकमा बहसपछि निर्णय पारित गरिने जानकारी दिइएको छ।












