काठमाडौं । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ ।
एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना सिंह रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । मधेश प्रदेशको उम्मेदवार भने अझै तय हुन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।
फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि मनोनयन प्रक्रिया सुरु भएको हो । ती सिटका लागि माघ ११ गते निर्वाचन हुनेछ ।












