काठमाडौं । धुंगा स्केट एड स्केटपार्क, डिंगरनगर, तिलोत्तमा नगरपालिकामा आयोजना गरिएको स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय महोत्सवमा आठ देशका ८० भन्दा बढी स्केटर सहभागी भएका थिए २५०० भन्दा बढी दर्शकले कार्यक्रमको आनन्द लिएका थिए।
कार्यक्रम स्केट एड नेपाल, युवा फर चेन्ज, र जेनकी फिल्म्सले संयुक्त रूपमा आयोजना गरेका थिए। यस वर्षको स्केट जात्रामा परम्परागत स्केटबोर्डिङका साथै डर्ट बाइक ट्र्याक, रोलर स्केटिङ, बीएमएक्स, डान्स, कला र अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए।
प्रतियोगितामा पुरुष सिनियर वर्गमा सरध राईले पहिलो स्थान हासिल गर्दै नगद रु. १,००,००० तथा उपहार प्राप्त गरे भने गजेन्द्र बर्देवा दोस्रो र भारतका सत्य महलिक तेस्रो स्थानमा रहे। कनिष्ठ केटाहरूको वर्गमा अभिषेक परियार पहिलो, अरुणाचलका डिप दोस्रो र अंकित बीके तेस्रो भए। केटीहरूको खुला वर्गमा समिक्षा राई पहिलो, नानी सोनाम दोस्रो र खुसी बीके तेस्रो भए।

आयोजकका अनुसार स्केट जात्रा २०२५ ले खेल, कला र संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै युवाहरूको सिर्जनात्मकता र सामुदायिक एकतालाई प्रोत्साहन गरेको छ। महोत्सवले नेपालमा स्केट संस्कृतिको विकास गर्नुका साथै अन्तर्राष्ट्रिय सहभागितामार्फत मित्रता, खेल भावना र सकारात्मक सामाजिक परिवर्तनको सन्देश फैलाएको छ।












