काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने भएको छ। क्यानको केन्द्रीय कार्यसमिति बैठकले १ जुलाईदेखि ३१ डिसेम्बरसम्मका लागि सन्दीपलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।
‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै निजलाई यही जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरियो,’ शुक्रबार सार्वजनिक निर्णयमा भनिएको छ।
क्यानले गत फागुनमा केन्द्रीय सम्झौताअन्तर्गत पुरुष र महिला खेलाडिलाई ए, बी, सी, डी र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गीकरण गरेको थियो। सोअनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडिले मासिक एक लाख रुपैयाँ पाउँछन्।