काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
लुम्बिनीलाई बलियो स्थितिमा पुर्याउन पौडेल र साद बिन जाफरले सानदार ब्याटिङ गरेका थिए । पौडेल र जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरूले टिमलाई बलियो स्कोरमा पुर्याएका थिए ।
पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । जफरले ५२ बनाए । ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे ।
अर्जुन साउद १५, टम मुर्स १०, आशुतोष घिरैया एक र उन्मुक्त चन्द शून्यमा आउट भए । सन्दीप जोरा ४ रनमा अविजित रहे । चितवनका लागि रिजन ढकाल तीन, रञ्जितकुमा र कप्तान कुशल मल्लले समान एक/एक विकेट लिए ।
यसअघि ४ खेलमा चितवनले ३ खेलमा जीत निकालेको थियो । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो ।
तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।
लुम्बिनीले भने यसअघिका चार खेलमा पराजय ब्यहोरेको थियो । पहिलो खेलमा लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो। त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो ।