काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित समूहले पार्टीको नाम दुरुपयोग गरी बदनाम गर्ने प्रयास गरेको आरोप लगाएको छ।
रास्वपाका अनुसार केही व्यक्तिहरूले पार्टी र त्यससँग सम्बद्ध व्यक्तिहरूको नाम लिँदै निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर, त्रास देखाउँदै टेलिफोन मार्फत धम्की दिइरहेको जानकारी आएको छ।
पार्टीका प्रवक्ता मनिष झाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिबाट रास्वपाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले भने, “यस्ता गतिविधिमा जो संलग्न छन्, उनीहरूको विरुद्ध आवश्यक छानबिन र कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ।”
रास्वपाले आफ्नो नाम र छविलाई प्रयोग गरी गरिने गैरकानुनी गतिविधि तत्काल रोक्न माग गर्दै दोषी व्यक्तिलाई कानूनी कठघरामा ल्याउन सरकार र सुरक्षासम्बन्धी निकायलाई ध्यानाकर्षण गराएको छ।












