काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्तर्गतका विभिन्न क्लबहरुले पर्वतको पैयूँ गाउँपालिकामा गत भदौ २९ गते रोटरीद्वारा निर्मित शौचालय हस्तान्तरण, स्थानीय सरकार र सामाजिक संघसंस्थाबीचमा सहकार्यका सम्भावना विषयक अन्तरक्रिया, नयाँ २० शौचालयको निर्माणको घोषणा, महिला सशक्तिकरण र नेतृत्व विकासबारे अन्तरक्रिया तथा छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् ।
नागरिकको घर–घरमा पुगेर गरिएको वस्तुगत अध्ययन, स्थानीय वडा सरकारको अनुरोधमा ती शौंचालयहरु निर्माण गरिएका हुन् । शौचालयको अवस्था अत्यन्तै दयनिय भएको पाएपछि शौचालय निर्माणबारे विभिन्न रोटरी क्बलसँग छलफलपश्चात शौचालय निर्माणका लागि विभिन्न रोटरी क्लबका अधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका थिए ।
गाउँपालिकाको वडा न ५ र ६ मा विभिन्न रोटरी क्लबहरुको सहयोगमा अति विपन्न नागरिकका १९ शौचालय निर्माण भएका छन् ।
भदौं २९ गते विभिन्न विभिन्न रोटरी क्लबका प्रतिनिधिहरु त्यहाँ पुगेर निर्माण भएका शौचालयको हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ जावलाखेलका अधिकारी, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका अधिकारी, विमेन इन लिडरसिप कमिटिका पदाधिकारी तथा रोटरी क्बल अफ बागलुङका रोटरियनहरुको उपस्थितिमा ति शौचालयहरु हस्तान्तरण गरिएका हुन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्र्तगतका विभिन्न रोटरी क्लबहरुले ती शौचालय निर्माण गरिदिएका हुन् । कुल ६ लाख ५० हजारमा ति शौचालय निर्माण भएका हुन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी, रोटरी क्बल अफ पशुपति काठमाडौं, रोटरी क्लब अफ बागमति काठमाडौंकी पूर्व अध्यक्ष रोटरियन रमा कंडेल, रोटरी क्बल अफ मञ्जुश्रीका पूर्व अध्यक्षहरु ज्योती राणा, पुनम शाह, सोनिला शाह र जोइन्ट सेक्रेटरी हेल्गा राणा रायमाझी, रोटरी क्लब अफ काठमार्डाैं सर्कल, इको हिमाल, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ जावलाखेल, रोटरी क्लब अफ विराटनगर मिडटाउन, रोटरी क्लब अफ ललितपुर र रोटरी क्लब अफ पाटन इष्टको आर्थिक सहयोगमा ति शौचालयहरु निर्माण भएका हुन् ।
शौचालय हस्तान्तरण कार्यक्रममा पैयूँका अति विपन्न नागरिकको शौचालय निर्माणमा महत्वपूर्ण आर्थिक सहयोग गरेकोमा सबै रोटरी क्लबप्रति पैयूँ गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी रानाले आभार प्रकट गरेकी थिइन् ।
यसैबीच सोही गाउँपालिकाकै बेउलीवासको बगालेस्थित दलित बस्तीमा अतिविपन्न दलित नागरिकको लागि २० शौचालय निर्माणको औपचारिक शुभारम्भ समेत भएको छ ।
रोटरी क्लब अफ जावलाखेलका निर्वतमान अध्यक्ष डा.विष्णु राज उप्रेती, पूर्व अध्यक्ष डा. सुवास प्याकुरेल, अन्य रोटरियन, वडावासी तथा जनप्रतिनिधिको उपस्थितिमा सो शौचालय निर्माण कार्यको प्रारम्भको घोषणा गरेका हुन् ।
सोही अवसरमा स्थानीय सरकार र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाविचमा सहकार्यका सम्भावनाबारे पैयूँ गाउँपालिका र रोटरीका प्रतिनिधिहरुविचमा समेत एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाका अन्य जनप्रतिनिधिदेखि उद्योग वाणिज्य संघ, स्थानीय युवा समूह तथा महिला समूहको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी गाउँपालिकाको वडा न १ र ६ का दुई छात्रा र वडा न ३ का एक छात्रलाई छात्रवृत्ति प्रदान समेत सोही अवसरमा गरिएको छ ।
रोटरी क्लब अफ जावलाखेलकी पूर्व अध्यक्ष शारदा आर्चाय पोखरेलले दुई जना र निवर्तमान अध्यक्ष डा. विष्णुराज उप्रेतीले एक छात्रा गरी तीन जनालाई जनही ७५०० का दरले उनीहरुको शिक्षाका लागि छात्रवृत्ति प्रदान समेत गरेका हुन् ।
ती छात्र तथा छात्राहरुले कक्षा १२ सम्म अध्ययनका लागि प्रत्येक वर्ष ७५०० का दरले छात्रवृति प्राप्त गर्नेछन । सोही अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको विमेन इन लिडरसिप कमिटिले पैयूँ गाउँपालिकाकै वडा नं. ६ का महिलाहरुलाई आत्मनिर्भर बन्नका लागि सहयोग पुगोस् भन्दै बाख्रापालनका लागि ४ वटा बाख्रा हस्तान्तरण गरेको छ भने रोटरी क्लब अफ रुद्रमति काठमाडौंका अध्यक्ष रोटरियन कृष्ण ढकालले पनि सोही वडाकै एक महिलालाई एक बाख्रा प्रदान गरेका छन् ।
बाख्रापालनबाट आत्मनिर्भर बन्न सकिने ति महिलाहरुको भनाइ र स्थानीय वडा सरकारको सिफारिसमा विमेन इन लिडरसिप कमिटिकी कोषाध्यक्ष कल्पना तिम्सिना र रिजन ४ की चेयर सोमुमाया रानाले ५ बाख्रा ति महिलाहरुलाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी वडा नं ६ कै कल्याणकारी आमा समूहसँग रोटरीको प्रतिनिधिमण्डलले महिला नेतृत्व र सशक्तिकरणका सन्दर्भमा अन्तरक्रिया समेत सम्पन्न गरेको छ । विमेन इन लिडरसिप कमिटी रिजन ४ की चेयर सोमुमाया रानाले महिला सशक्तिकरण र नेतृत्व विकासका सन्दर्भमा विचार राख्दै रोटरीले खेल्न सक्ने भूमिकाका बारेमा बताएकी थिइन् ।
रोटरीले त्यहां यसअघि पनि विविध परियोजना सम्पन्न गरिसकेको छ । खानेपानी परियोजनादेखि रोटरी क्लब अफ जावालखेलले त्यहांको आधारभूत अस्पतालका लागि इसीजी र अल्ट्रा साउण्ड प्रदान गरेको छ भने बाँकी ५ वडाका एक/एक छात्राका लागि क्लबका पूर्व अध्यक्षहरु डा.सुनिती आर्चाय, भिभा सिंह, हेमा अधिकारी, शारदा आर्चाय पाखरेल र शोभा लामिछानेले गत वर्षदेखि नै वार्षिक छात्रवृत्ति प्रदान गर्न प्रारम्भ गरेका थिए । विभिन्न रोटरी क्लबहरुले त्यहाँ वार्षिक रुपमा स्टेशनरी प्रदान, विद्यालयका लागि खानेपानी फिल्टर प्रदान गर्दे आएका छन् ।