काठमाडौं । सन्दीप जोराको शानदार अर्धशतक र रासिद खानको घातक बलिङ प्रभावकारी ठहरिए पनि नेपाल हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ।
शुक्रबार बिहान मोङकोकस्थित मिसन रोड ग्राउन्डमा सम्पन्न खेलमा नेपाल १७ रनले पराजित भयो।
१ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सन्दीप जोराले १४ बलमा १ चौका र ८ छक्काको मद्दतमा ५३ रन बनाए। चोटका कारण उनी रिटायर्ड हर्ट हुनुपर्यो।
ओपनर लोकेश बमले १० रन जोडे भने रासिद खान ११ रनमा एलबीडब्लु भएका थिए। आदिल आलम ११ रन बनाएर अविजित रहे।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउँदै १ सय १२ रनको उत्कृष्ट स्कोर तयार पारेको थियो।
करिम जनतले १० बलमा ३५ रन प्रहार गरे। कप्तान गुल्बदिन नैब २२ रनमा सन्दीप जोराको क्याचमा समातिए।
फरलुल्लाह साफी ३० रनमा नटआउट रहे।
नेपालका लागि रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले एक विकेट निकाले।
अबको खेल तालिका
नेपालले शनिबार लगातार तीन खेल खेल्नेछ—
• दक्षिण अफ्रिका
• हङकङ
• कुवेत
आइतबार नेपाल यूएईविरुद्ध खेल्नेछ।












