काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनमा सीमित रह्यो । २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाएर जित हासिल गर्यो ।
अमेरिकाका मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए । मिलिन्दले ७० रन बनाउँदा मुक्कामल्लाले १०१ बलमा २ चौका र १ छक्कासहित ७५ रन जोडे ।
अमेरिकाका ओपनर स्मिथ पटेल र शयान जहांगिरले क्रमशः १६ र ३६ रन बनाए । कप्तान मोनांक पटेलले २१ रनको योगदान दिए । शुभम रन्जनीले १९, सञ्जय कृष्णमूर्ति १५ र हर्मित सिंह १३ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिँदा, करण केसी, गुल्सन झा र नन्दन यादवले १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ६७ बलमा २ चौका र ३ छक्कासहित ७५ रन बनाए । ओपनर कुशल भुर्तेलले ४७ रन र भीम सार्कीले ४३ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३६ तथा करण केसीले अन्त्यतिर ४९ रनको महत्त्वपूर्ण इनिङ खेले ।
अमेरिकाका बलर हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले २–२ विकेट हात पारे । जसदीप सिंह र शुभम रन्जनीले १–१ विकेट लिए ।
नेपालले यसअघि पनि लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजय बेहोरेको थियो ।
हाल लिग २ को तालिकामा अमेरिका २३ खेलमा १७ जित र ६ हारसहित ३४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल भने १९ खेलमा ५ जित, १२ हार र २ खेल बराबरी गर्दै १२ अंकसहित सातौँ स्थानमा छ ।












