काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार मरारा क्रिकेट ग्राउण्ड–२ मा भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३० रनले पराजित गर्यो।
टस जितेर ब्याटिङ थालेको मेलबर्नले २० ओभरमा पाँच विकेट गुमाउँदै १७६ रनको चुनौती दिएको थियो। जवाफमा नेपाल २० ओभरमा सात विकेटको क्षतिमा १४४ रनमा सीमित रह्यो।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे भने कुशल भुर्तेल २५ रनमा आउट भए। अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
मेलबर्नका ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले अर्धशतक प्रहार गर्दै नेपालविरुद्ध बलियो साझेदारी गरे। म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्कासहित ७४ रन बनाए भने रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रनको योगदान दिए। यी दुईले दोस्रो विकेटका लागि १२२ रन जोडे।
नेपालतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शहाब आलमले समान एक–एक विकेट लिए।
यसअघि नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।












