काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। शुक्रबार एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच भएको एकता घोषणा कार्यक्रममा बोल्दै उनले एमालेसँग पुनः एकता हुने चर्चा भ्रम मात्र भएको बताएका हुन्।
अध्यक्ष नेपालले एमालेभित्रको आन्तरिक अवस्थाबारे आफूले स्पष्ट बुझाइ बनाइसकेको बताउँदै भने, “कसैको व्यक्तिगत आशा–अपेक्षा छ भने त्यसमा केही भन्नु छैन। तर यो पार्टीसँगको सम्बन्धको कुरा गर्दा, एमालेका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ—उनीहरूको उद्देश्य एकीकृत समाजवादीलाई कमजोर पार्ने र समाप्त पार्ने हो।”
उनले एमालेले आफ्नो पार्टीलाई निस्तेज बनाउन विभिन्न रणनीति र प्रहारहरू गरिरहेको दाबी गरे। “हामीले देखिसकेका छौं, उनीहरू कुन–कुन तरिका अपनाउँदै छन्, कहाँ–कहाँ प्रहार गर्दै छन् भन्ने कुरा स्पष्ट भइसकेको छ,” उनले भने।
एमालेसँग पुनः एकताको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै अध्यक्ष नेपालले एकता राष्ट्रिय अभियानसँगको एकताले पार्टी थप बलियो बन्ने विश्वास व्यक्त गरे। “यो एकताले हामीलाई कसैले रोक्न सक्दैन,” उनले दोहोर्याए।












