काठमाडौं । सूर्योदय लघुवित्त वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ खुला भएको छ । प्रतिकित्ता १ सय मूल्यमा संस्थाले ४६ हजार ७ सय २९ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेको हो ।
साबिकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख रुपैयाँ छ।
यसमा संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको छ भने सर्वसाधराण सेयर २९.६४ प्रतिशत छ। लघुवित्तले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशनमा ल्याएको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने कम्पनीहरुका लागि अन्तिम स्वीकृति प्रदान गर्दा कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधरणको हुनुपर्ने व्यवस्था गरेको छ।
त्यसैले कम्पनीले सर्वसाधारणको हिस्सा बढाउन एफपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निष्काशनका लागि असार २३ गते अनुमति पाएको थियो। सोहीअनुसार साउन ४ देखि साउन ८ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरेको छ।