काठमाडौं। निर्वाचन आयोगले मतदाताले विवेकको निर्णय लिनका लागि मौन अवधि महत्वपूर्ण हुने बताएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ।
निर्वाचन आयुक्त डा जानकी तुलाधरले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले यो अवधिमा पालना गर्नुपर्ने विशेष आचरण पनि तोकिएको बताइन्।
‘निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ। मतदानका लागि शान्त वातावरण कायम गराउने उद्देश्यले मतदानको दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिएको हो,’ उनले भनिन्, ‘मतदानको दिन सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुन्जेलसम्म कायम रहन्छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचारणहरू निर्वाचन आचारसंहितामा व्यवस्था गरिएका छन्।’
मौन अवधिमा के के निषेध ?
मौन अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश सम्प्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ।
प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन। मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनु हुँदैन। निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन।
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन। बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन।
त्यस्तै, मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन। राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ।
मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको छ।










