काठमाडौं । अमेरिकामा प्राध्यापनरत डा.थोमस बास्तोलाले गृह जिल्ला सोलुखुम्बुमा १६ जना विद्यार्थीलाई बार्षिक रूपमा पुरस्कृत गर्ने गरी ‘विद्यावारिधी लक्ष्य पुरस्कार’ स्थापना गरेका छन्।
हालसालै अमेरिकाको साउदन इलिनोई युनिभर्सिटीबाट अर्थशास्त्र विषयममा विद्यावारिधि हासिल गरेका जिल्लाको नेचासल्यान गाउँपालिका-४ निवासी डा. बास्तोलाले १३ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका सोलुखुम्बु जिल्ला अध्यक्ष टंक दाहालले जानकारी दिए ।
आफ्ना निकटस्थ साथीहरूसंगको समेत समन्वयमा स्थापित सो अक्षयकोषबाट प्राप्त ब्याजबाट सोलुखुम्बु जिल्लाका आठ वटा स्थानीय तहहरुमा सर्वोत्कृष्ट अङ्क हासिल गरी आफूलाई अब्बल सावित गर्ने उत्कृष्ट एक छात्र र एक छात्रालाई हरेक वर्ष नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुमार्फत प्रति विद्यार्थी नगद ५ हजार र सम्मान पत्र प्रदान गर्ने गरी हालै द्विपक्षीय सम्झौता भएको अध्यक्षको दाहालको भनाई छ ।
अक्षयकोषदाता बास्तोला र संगठनका जिल्ला अध्यक्ष दाहालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा अक्षयकोषको स्थायी व्यवस्थापन नगरुन्जेल सम्मका लागि दाताबाट प्राप्त रकम १३ लाख ५० हजार राष्ट्रिय बाणिज्य बैंकमा रेमिटेन्स खाता खोलि जम्मा गर्ने र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले साँंवा रकम नचलाई ब्याजबाट प्राप्त हुने रकमलाई दाताको तर्फवाट डा. थमन प्रसाद बास्तोलासँग समन्वय गरि हरेक वर्ष विद्यावारिधि लक्ष्य पुरस्कार र विपन्न लक्षित छात्रवृतिको कार्यक्रम गर्न रकम विनियोजन गरी कार्यक्रम संचालन गर्ने लगायत रहेको छ ।












