काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका अनुसार पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जानेछ ।
शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ। नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन्। समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ।
चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ। एक सय सातवटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ। यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन। बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ। शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

