काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले चुनाव जित्न सक्दैनन् भनेर समानुपातिकमा राख्नु पनि सामन्ती र पितृसत्तात्मक चिन्तन भएको बताएकी छिन् ।
प्रत्येक्ष निर्वाचनमा महिलालाई उम्मेदवार नबनाउँदा महिला नेतालाई जनताले चिन्नै छाडेको उनको टिप्पणी छ । महिला अधिकार दिवसको अवसरमा एमालेले राखेको राष्ट्रिय महिला सम्मेलनमा उनले भनिन्, ‘महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् भनेर समानुपातिक जति महिला बनाउन थालिएको छ । यो पनि सामन्ती र पितृसत्तात्मक चिन्तन हो ।’
राजनीतिमा लागेका महिला असुरक्षित रहेकोप्रति पनि उनले चिन्ता व्यक्त गरिन् । भूमिगत कालमा कम्युनिस्ट पार्टीभित्र महिला सुरक्षित रहेको स्मरण गर्दै सुरक्षित वातावरणले मात्र महिला नेतृत्व विकास हुने उनले बताइन् ।