काठमाडौं। अखिल नेपाल महिला संघले २१ फागुनमा हुने निर्वाचनका दौरान हुनसक्ने महिला हिंसाका घटना रोक्न विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
संघका महासचिव पेम्बा लामाले एक विज्ञप्ति जारी गर्दै जनसंख्याको आधा हिस्सा महिला भएकाले उनीहरुको मत निर्णायक तर विभिन्न ढंगले मत प्रभावित गर्न खोजिने सम्भावना रहनसक्नेप्रति सचेत रहन पनि भनेकी छन्।
‘महिलामाथि हुने हिंसा पनि बढ्ने त्यतिकै सम्भावना रहन्छ । त्यसैले, नेपाल सरकारले आम सुरक्षाका साथै महिलाको सुरक्षाको विशेष प्रवन्ध गर्न आवश्यक छ। अतः अखिल नेपाल महिला संघ, निर्वाचनको दौरानमा हुनसक्ने महिला हिंसाका घटनालाई रोक्नका लागि विशेष व्यवस्था गर्न सरकार समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
संघले फागुन २१ को निर्वाचन नजिकिएसँगै विभिन्न स्थानमा बालबालिका अपहरणमा परी बाहिर लान लागिएको अवस्थामा प्रहरीले पक्राउ गरेको, महिलामाथि दुव्र्यवहार, दुरुत्साहनका साथै बलात्कारसम्मको घटना भएको र विभिन्न बहानामा महिलाको हत्या भएको घटना विभिन्न संचारमाध्यममा सार्वजनिक भइरहेको बताएको छ। ‘निर्वाचन, देश र जनताको भविष्य निर्धारण गर्ने थलो हो, जसमा सबैले आफ्नो मत ढुक्कसंग जाहेर गर्न पाउनुपर्दछ। त्यसका लागि महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र अशक्तमैत्री तथा सुरक्षित वातावरण आवश्यक हुन्छ । खास गरी महिला हिंसाका कारण महिलाले आफ्नो मताधिकार प्रयोग गर्नका लागि सुरक्षित महशुस गर्न आवश्यक छ,’ महासचिव लामाले भनेकी छन्।
संघले नेपालको इतिहासमा भएका ठूलाठूला राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको स्मरण गराएको छ।
‘प्रजातन्त्रको उदय, लोकतन्त्र प्राप्तिका साथै नयाँ परिवेशमा लोकतन्त्र संस्थागत, न्याय र समानताको आन्दोलनमा महिलाले महत्वपूर्ण भूमिका खेलेका छन्। तर समाज परिवर्तनका साथै घरदेखि मुलुक चलाउने स्थान पुग्दा पनि महिलाको सुरक्षा हरेक क्षण क्षीण हुँदै गएको अनुभूत भइरहेको छ। खास गरी राज्यका महत्वपूर्ण घटनाहरुको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिका साथै विपन्न वर्गले असुरक्षा, अभाव भोग्नु परेको तथ्य सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ।










