काठमाडौं । नेपालले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेसँगै सरकारले ऊर्जा उत्पादनको पुरानो ढाँचा बदल्ने तयारी गरेको छ।
नदीमा पानी बग्दा मात्रै बढी विद्युत् उत्पादन हुने नदी प्रवाही आयोजनामा केन्द्रित नेपालको ऊर्जा प्रणालीलाई जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जासमेत समेट्ने गरी पुनर्संरचना गर्न लागिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी दशकको विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) तयार गर्ने प्रक्रिया अघि बढाएको छ। कुन स्रोतबाट कति विद्युत् उत्पादन गर्ने भन्ने अनुपात निर्धारण भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पनि पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
यो निर्णयले विद्युत् उत्पादनको लक्ष्य मात्रै बढाउने नभई निजी क्षेत्रको लगानी कुन प्रकृतिका आयोजनामा जाने भन्ने पनि निर्धारण गर्नेछ। अहिले पीपीएको प्रतीक्षामा रहेका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाका लागि पनि नयाँ नीतिले बाटो खोल्न सक्छ।
१६ हजार मेगावाटका आयोजना निर्णयको प्रतीक्षामा
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट विद्युत् खरिद सम्झौता भएको छ। त्यस्तै, ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पीपीए भइसकेको छ।
तर थप २८१ वटा आयोजनाका कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्।
पीपीए नहुँदा आयोजनाको वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नुअघि उत्पादित विद्युत् बिक्री हुने सुनिश्चितता खोज्छन्। पीपीएलाई आयोजनाको आम्दानी र ऋण भुक्तानीको आधार मानिने भएकाले सम्झौता नहुँदा निर्माण प्रक्रिया अघि बढाउन कठिन हुन्छ।
त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीए खुलाउने मात्रै होइन, निजी क्षेत्रको लगानी र निर्माण गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।
१५ हजार मेगावाटको पुरानो अनुपात अब पर्याप्त भएन
नेपालले यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरेको थियो। तर ३० हजार मेगावाटको नयाँ लक्ष्यसँगै पुरानो अनुपात पुनरावलोकन गर्नुपर्ने अवस्था आएको हो।
सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा संकट निवारण नीति तथा विद्युत् विकास दशक (२०१६–२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट विद्युत् उत्पादन गर्ने अनुपात निर्धारण गरेको थियो। त्यसबेला जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्त आयोजनालाई १५ देखि २० प्रतिशत हिस्सा दिने लक्ष्य राखिएको थियो।
पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार तयार गरिएको ऊर्जा मिश्रणमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो।
सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो। तर २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्याएपछि पीपीए नीति पनि सोहीअनुसार अघि बढेको थियो। त्यसपछि प्राधिकरणले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो।
अहिले ३० हजार मेगावाटको लक्ष्यअनुसार नयाँ अनुपात निर्धारण गर्न लागिएको हो।
‘टेक एन्ड पे’ ले थपियो अन्योल
पीपीए प्रभावित हुनुमा ऊर्जा मिश्रणको पुरानो अनुपात मात्रै कारण छैन। गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि निजी क्षेत्रका आयोजना थप अन्योलमा परेका हुन्।
यस व्यवस्थाले उत्पादित विद्युत् खरिदको सुनिश्चिततामा प्रश्न उठाएको भन्दै निजी क्षेत्रले चासो व्यक्त गर्दै आएको छ। त्यसपछि नदी प्रवाही आयोजनासँगै अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया पनि प्रभावित भएको छ।
नयाँ ऊर्जा मिश्रणले कुन प्रकृतिका आयोजनालाई कति प्राथमिकता दिने भन्ने स्पष्ट पार्नेछ। तर पीपीए पुनः सुरु हुन ऊर्जा मिश्रण निर्धारण मात्रै पर्याप्त हुन्छ वा ‘टेक एन्ड पे’ सम्बन्धी व्यवस्थामा समेत पुनरावलोकन आवश्यक पर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।












