काठमाडौं। भारतको अयोध्या र नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
भारतको धार्मिक नगरी अयोध्याबाट सुरु भएको रेल सेवा जनकपुरधामसम्म आइपुगेपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायातमार्फत जोड्ने नयाँ अध्याय सुरु भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनसँगै अयोध्याबाट जनकपुरधामका लागि पहिलो यात्रामा निस्किएको रेल मंगलबार बिहान ९ः४० बजे गन्तव्यमा आइपुगेको हो।
सोमबार दिउँसो साढे १२ बजे अयोध्याबाट छुटेको रेलले करिब २१ घण्टाको यात्रा पूरा गरेर जनकपुरधाम पुगेको हो। रेलमा आएका यात्रुलाई जनकपुरधाममा फूलमाला लगाएर स्वागत गरिएको थियो। स्वागतका क्रममा नेपाल र भारतका राष्ट्रिय झन्डासमेत प्रदर्शन गरिएको थियो।
रेल सेवा सञ्चालनमा आएसँगै भारतको अयोध्या र नेपालको जनकपुरधामबीच धार्मिक यात्राका लागि नयाँ यातायात सम्पर्क स्थापित भएको छ। यी दुवै सहर हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छन्।
अयोध्या भगवान् रामको जन्मस्थलका रूपमा परिचित छ भने जनकपुरधाम माता सीताको जन्मस्थल तथा भगवान् राम र सीताको विवाहस्थलका रूपमा धार्मिक आस्था राख्नेहरूका लागि विशेष महत्वको स्थान हो।
भारतीय रेल्वेले सार्वजनिक गरेको विवरणअनुसार अयोध्या–जनकपुर रेलमार्गको कुल दूरी करिब ६०४ किलोमिटर छ। उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै रेल नेपाल प्रवेश गर्छ। यात्राका क्रममा मंकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रेल रोकिनेछ।
यो रेल सेवा भारतको उत्तर प्रदेश र बिहारका विभिन्न क्षेत्रलाई नेपालको मधेश प्रदेशसँग जोड्ने माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ। विशेषगरी भारतका विभिन्न सहरबाट जनकपुर आउने तीर्थयात्रीलाई एउटै रेलमार्फत यात्रा गर्ने सुविधा उपलब्ध हुनेछ।
रेलले अयोध्या र जनकपुरबीचको यात्रा करिब १९ घण्टामा पूरा गर्ने भारतीय रेल्वेको विवरण छ।










