काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने छ ।
त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ। कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापति संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
दुई खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।
यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो। पदाधिकारी संख्या १४ थियो ।
यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ।












