काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसका कारण आगामी केही दिन देशभरको मौसममा बदली भई वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागहरूमा साधारणतया बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च हिमाली भेगमा हिमपातको पनि प्रक्षेपण गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको क्रम जारी रहने देखिन्छ।
आइतबार देशभरको मौसममा थप बदली आउनेछ। दिउँसो देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ भने राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रमा पनि वर्षा र हावाहुरीको सम्भावना उच्च रहेको छ।
सर्वसाधारणका लागि सुझाव
वर्षासँगै तीव्र गतिको हावाहुरी, चट्याङ र असिना पर्ने सम्भावना रहेकाले कृषि, यातायात र दैनिक जनजीवनमा पर्न सक्ने असरबाट बच्न महाशाखाले सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी पहाडी भेगमा हुने हिमपात र चट्याङबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउनु पर्ने देखिएको छ।












