काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशका अधिकांश भूभागमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको जनाएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा समेत हुन सक्ने देखिएकाले सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी र गण्डकीको पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। यसबाहेक तराईका केही स्थानहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित असिना पर्न सक्नेछ।
बिहीबार बदली र मध्यम वर्षाको निरन्तरता हुने देखिन्छ। बिहीबार दिउँसो कोशी र मधेश प्रदेशका साथै पहाडी र हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने आंशिक बदली रहनेछ।












