काठमाडौं। अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी नौसेना प्रमुख जोन फ्यालनले ‘तत्काल प्रभाव’ रहने गरी आफ्नो पद छोड्दै छन्।
पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। साथै, नौसेनाका उपसचिव हङ काओ अब कार्यवाहक सचिव हुने पनि उनले बताएका छन्।
पछिल्ला महिनामा पद छोड्ने उच्च सैन्य अधिकारीहरूको सूचीमा फ्यालनको नाम पनि थपिएको छ। केही हप्ताअघि मात्र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ ऱ्यान्डी जर्जलाई पद छोड्न निर्देशन दिएका थिए।
अन्य दुई सैन्य अधिकारीहरू, जनरल डेभिड हडने र मेजर जनरल विलियम ग्रीनलाई पनि हालै उनीहरूको पदबाट हटाइएको छ।
पेन्टागन सम्हालेदेखि हेगसेथले एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाइसकेका छन्, जसमा नौसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुख समेत सामेल छन्।
फ्यालन यसअघि कहिल्यै सेनामा थिएनन्। उनी मार्च २०२५ मा नौसेना प्रमुख बनेका थिए। उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ मा मनोनयन गरेका थिए।
उनको स्थान लिने काओ अक्टोबर २०२५ मा उपसचिव बनेका थिए र उनीसँग नौसेनामा २५ वर्ष सेवा गरेको अनुभव छ।












