काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै समाधान नहुँदै झन् चर्किएको छ। पछिल्लो घटनाक्रममा पार्टीको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद नयाँ चरणमा पुगेको हो।
बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले पार्टी विधानविपरीत गतिविधि गरेको ठहर गर्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। समितिले खड्कामाथि आधिकारिकता विवादका बीच अनधिकृत रूपमा लेटरप्याड प्रयोग गरी प्रेस विज्ञप्ति जारी गरेको आरोप लगाएको छ।
तर, खड्काले उक्त निर्णयलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएका छन्। उनले आफूलाई स्पष्टीकरण सोध्नु ‘हाँस्यास्पद र निरर्थक’ भएको बताएका छन्। तत्काल प्रतिक्रिया दिँदै उनले स्पष्टीकरण नदिने संकेत गरेका छन्।
अनुशासन समितिले दिएको ७ दिने समयसीमाभित्र खड्काले स्पष्टीकरण नदिए थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने संकेत गरिएको छ। यसबीच आगामी १५औँ महाधिवेशनले पनि विवाद समाधानमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हालका घटनाक्रमले कांग्रेसभित्रको शक्ति संघर्ष अझै टुंगिन नसकेको र आगामी दिनमा थप राजनीतिक उतारचढाव देखिन सक्ने संकेत गरेका छन्।
विशेष महाधिवेशनपछि झन् गहिरिएको विभाजन
कांग्रेसभित्रको विवाद विशेष महाधिवेशनपछि झन् तीव्र बनेको छ। गत वर्ष पुस २७-८ मा आयोजित विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो, जसलाई पछि निर्वाचन आयोगले वैधता दिएको थियो।
यद्यपि, संस्थापन पक्षका नेता शेरबहादुर देउवा र खड्का समूहले उक्त महाधिवेशनलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन्। उनीहरूले अझै पनि पुरानै संरचनालाई वैध मान्दै आएका छन्।
विशेष महाधिवेशनको वैधता विवादकै क्रममा संस्थापन पक्षले विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई निष्कासन गर्ने निर्णयसमेत गरेको थियो, जसले विवादलाई थप चर्काएको थियो।
समानान्तर गतिविधिले बढायो अन्योल
निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिए पनि पार्टीभित्र दुई धार स्पष्ट देखिएको छ। एकातिर गगन थापा नेतृत्वको आधिकारिक संरचना छ भने अर्कोतिर देउवा–खड्का समूहले समानान्तर गतिविधि गरिरहेको अवस्था छ।
खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गर्दै आएको विषयलाई नयाँ नेतृत्वले अनुशासन उल्लङ्घनको रूपमा लिएको छ। यही कारण अहिले स्पष्टीकरण प्रकरण अगाडि आएको हो।



![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)


