काठमाडौं। निर्वाचन आयोगले धनुषा १ मा रास्वपाबाट उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
साहको कम्पनी कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी खारेजीको निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै विरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको हो।
साहको निर्माण कम्पनीले मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत जलाद नदीमा ८ वर्षदेखि अलपत्र पारेको थियो। सडक डिभिजन कार्यालय जनकपुरका अनुसार पुल निर्माणका लागि पप्पु–कमल जेभी निर्माण कम्पनीसँग २०७४ असार १९ गते १२ करोड ३५ लाख ६३ हजार २२४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७६ पुस १९ गते काम सम्पन्न गर्ने लक्ष्य थियो। तर अझै पुल निर्माण सम्पन्न भएको छैन।
साह यसअघि ०७९ को चुनावमा किशोरी साह जनमत पार्टीबाट धनुषा १ मै उम्मेदवार बनेका थिए । उनी १४ हजार ४ सय ६७ मतसहित तेस्रो स्थानमा थिए। उनी त्यसअघि ०७४ मा धनुषा–१ (क) बाट प्रदेशसभा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए। २०७९ मा टिकट नपाएपछि उनी जनमतमा गएका थिए भने २१ फागुनको चुनावमा टिकट लिएर उनी रास्वपा पुगेका थिए।










