काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा आयोजना हुनेछ।
उनका अनुसार बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीति तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने छ।
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बैठक बस्न लागेको हो।
एमालेका सचिव डा. राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक मुख्यतः प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजनसम्बन्धी निर्णय भने यस बैठकबाट नहुने स्पष्ट पारेका छन्।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र राजनीतिक रणनीति तय गर्ने तयारी गरेको नेताहरूको भनाइ छ।












