काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक छैन भन्ने पार्टी संस्थापन पक्षको तर्कप्रति असहमति जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा बोल्दै थापाले नियमित महाधिवेशनको क्यालेन्डर घोषणा हुँदैमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने स्पष्ट पारे।
महामन्त्री थापाले चुनावअघि नै नेतृत्व परिवर्तनको मागलाई नियमित अधिवेशनको बहानामा पन्छाउन नमिल्ने बताए। ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो,’उनले भने।
प्रक्रियामा नजाने प्रवृत्ति पार्टीका लागि घातक हुने चेतावनी दिँदै थापाले अवैधानिक बाटो रोज्न खोज्नुले पार्टीलाई संकटमा पार्न सक्ने बताए। विशेष महाधिवेशनको विषयले पार्टी कार्यकर्तालाई दुई भागमा बाँड्ने स्थिति सिर्जना हुन नहुनेमा उनले जोड दिए। ‘विशेष महाधिवेशनको मञ्चमा आउने सबै हाम्रै कार्यकर्ता हुन्, यसले पार्टी विभाजनतर्फ जान नदिनुपर्छ,’ थापाले भने।
उनले आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको तर्क प्रस्तुत गरे। पार्टी विधान र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दा नियमित महाधिवेशनले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने भए विशेष महाधिवेशन नै विकल्प हुने उनको भनाइ थियो।
महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको उल्लेख गर्दै ४० प्रतिशत प्रतिनिधि जुट्नु सामान्य अवस्था नभई असाधारण परिस्थितिको संकेत भएको बताए। नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए।
थापाले कार्यवाहक सभापतिमार्फत सभापतिलाई आग्रह गर्दै पार्टीलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन नेतृत्वले लचकता देखाउन र विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै सहमतिको बाटो खोज्न अपिल गरेका छन्।












