काठमाडौं । सोमबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सुरुवात खेलमा काठमाडौंले गत सिजन विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको हो ।
जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि लागि ओपनर बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलान्द कुमार १९ तथा जोस सिम्पसनले १३ रन जोड्न सफल भए । यसैगरी मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे ।
जनकपुरका लागि किशोर महतो, अनिलकुमार साह, ललितनरायण राजवंशी र जान निकोल लोफ्टी–इटनले एक–एक विकेटको योगदान दिएका हुन् । टस हारेर ब्याटिङको मौका पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । उसका लागि ओपनर आसिफ शेखले अर्धशतक पूरा गरे ।
आसिफले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रनको पारी खेलेका हुन् । यस्तै, मयन यादवले अविजित ३४ रन जोडे । लाहिरु समरकुन १५ रनमा आउट भएका थिए ।
काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, साहब आलम, सन्तोष यादवक र करण केसीले एक–एक विकेट हात पार्न सफल भएका थिए ।












