काठमाडौं । हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको बताए ।
पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।












