काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुधबार बेलुकी हुन गइरहेकाे साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने व्यवस्था गरेकाे छ । महानगरपालिकाले टुँडिखेल, सानो गौचरन (हाँडीगाउँ) र चावहिलको फुटवल ग्राउण्डमा प्रत्यक्ष प्रसारणको खेलको लाइभ स्क्रिनिङ गर्ने भएको हो ।
साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को उपाधि जित्नका लागि आज नेपाल र वंगालादेशका टिमबीच फाइनल खेल हुँदैछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सो खेलमा नेपाली टिमलाई हौसल प्रदान गर्न खेल स्क्रिनिङ गर्ने महानगरले तयारी गरेको हाे ।
“खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेलको अवलोकन गर्ने अवसरका लागि एलइडी स्क्रिन राखेर फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ । यो निःशुल्क अवसर हो,” महानगरले जनाएकाे छ ।
खेल मैदानमा गएर खेल हेर्ने अवसर प्राप्त नभएका फुटबलप्रेमी दर्शकहरुलाई खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरपालिकाले अनुरोध गरेको छ।












