काठमाडौं । मोरङको सुन्दरहरैँचामा दुई नाबालिका छोरीको ‘हत्या’पछि बेपत्ता महिला भेटिएकी छन्। सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई झापामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिका–को शव यही भदौ १५ गते साँझ घरनजिकै केराघारीमा फेला परेको थियो। पतिसँगको घर झगडामा विष खुवाएर अस्मिताले नै छोरीहरुको हत्या गरेको आशंका प्रहरी र स्थानीयले गरेका छन्।
बालिकाहरुको शव फेला परेको स्थान नजिकै किटनाशक औषधिको बट्टा पनि फेला परेको थियो। मृत भेटिएका बालिकाहरुको शरीरमा कुनै बाहिरी चोटपटक थिएन। छोरीहरुको शव फेला परे पनि अस्मिता भने त्यसयता बेपत्ता थिइन्।
उनलाई मानसिक रुपमा विक्षिप्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अस्मिताका पति अर्जुनले आफूहरुबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे स्थायी घर भएका अर्जुन कार्की ट्याक्सी चालक हुन्। उनले इटहरीमा आफ्नै घर निर्माण गर्दै आएका छन्।












