काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिएमा अब सिधै नेपाल प्रहरीले अनुसन्धान गर्ने निर्णय गरेको छ। महानिर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
दिईएको निर्णय अनुसार, पहिले शंकास्पद कागजात पेस गर्ने यात्रुको भ्रमण रोक्ने मात्र काम हुँदै आएको थियो। अब भने, शंका लागेका कागजात भएमा यात्रु प्रहरी वा सम्बन्धित सुरक्षा निकायको जिम्मामा रहनेछन्।
बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी, सिआइबी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अन्य अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने, “यसले भिजिट भिसा प्रणालीलाई सहज, प्रभावकारी र सुरक्षित बनाउनेछ।”












