काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णय गरेपछि उनकी छोरी उषा किरण भण्डारीले सार्वजनिक रुपमा तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।
मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको निर्णयप्रति गहिरो व्यंग्य गरेकी छन्। निर्णयसँगै देखिएको प्रतिक्रिया र संवेदनशीलता अभावप्रति प्रश्न उठाउँदै उनले लेखेकी छन्, “तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क परेका देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहेका छन्?”
उनका अनुसार यस्तो निर्णय र त्यसमा पुगेका प्रक्रियाबाट उनी भने अचम्मित नरहेको उल्लेख गरेकी छन्। बरु, यस्तो कुरा खुला रूपमा बाहिर आएकोमा आफू खुसी भएको उनको भनाइ छ।
पार्टीप्रति आफ्नो परिवारको निरन्तर नैतिक समर्थनबारे स्मरण गराउँदै उनले लेखेकी छन्, “आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!… हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्छिन्। सोहीअनुसार कोसिस गरियो।”
तर, पछिल्लो समयको व्यवहारले यस्तो समर्थन पनि स्वीकार नगरिने स्थितिमा पार्टी पुगेको उनको आरोप छ। “विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउँछन्। नैतिक समर्थन खोज्दैनन् पनि,” उनले लेखेकी छन्।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर गरेको निर्णयपछि देखिएको आन्तरिक असन्तुष्टिले पार्टीभित्रको सन्तुलन र नेतृत्वप्रतिको विश्वासमाथि पुनः प्रश्न उठेको छ।












