काठमाडौं। डोनाल्ड ट्रम्पले अमेरिकी संसदसँग १.५ ट्रिलियन डलरको रक्षा बजेट माग गरेका छन्। आर्थिक वर्ष ०२७ का लागि उक्त रकमको रक्षा बजेट स्वीकृत गर्न माग गरेका हुन्।
यो रकम अघिल्लो वर्षको तुलनामा अमेरिकी रक्षा बजेटमा ४२ प्रतिशतको वृद्धि हुने बताइएको छ।
यदि अमेरिकी संसदले यो बजेट पारित गरेर कार्यान्वयनमा ल्यायो भने, यो आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा बजेट हुनेछ।
यद्यपि रक्षा खर्च बढाउने ट्रम्पको यो प्रस्ताव इरानसँग हालको तनाव सुरु हुनुअघि तयार गरिएको हो। यसले ट्रम्प प्रशासनको घरेलु उत्पादन विस्तार र ठूला पूर्वाधार तथा सुरक्षा परियोजनामा केन्द्रित नीति देखाउँछ।
यस बजेटमा ट्रम्पले प्रस्ताव गरेको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीका लागि समेत रकम समावेश गरिएको छ, जसको उद्देश्य नयाँ पुस्ताका हवाई खतराबाट अमेरिकालाई सुरक्षित बनाउनु हो।
प्रारम्भिक बजेट खाकाअनुसार यसमा दर्जनौँ सैन्य जहाज निर्माणका लागि पनि रकम छुट्याइएको छ। तीमध्ये भारी हतियारले सुसज्जित अमेरिकी नौसेनाका नयाँ ‘ट्रम्प(क्लास’ युद्धपोतको नयाँ शृङ्खला पनि समावेश छ, जसको घोषणा ट्रम्पले गत डिसेम्बरमा गरेका थिए।












