काठमाडौं। अघिल्लो संसदको दोस्रो ठूलो दल एमालेले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निराशाजनक नतिजा हात पारेको छ। संगठनमा चुस्त मानिने एमालेले प्रत्यक्षतर्फ दोहोरो अंकको जित समेत निकाल्न सकेन।
हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमालेले आठ सिट मात्र जितेको छ। संखुवासभा १ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिइरहेका छन्।
एमालेबाट ताप्लेजुङमा क्षितिज थेबे, इलाममा सुहाङ नेम्वाङ, धनकुटामा राजेन्द्रकुमार राई, बाँके २ मा मोहम्मद इश्तियाक राई, दैलेखमा लक्ष्मीप्रसाद पोखरेल, बझाङमा ऐनबहादुर महर, अछाम २ मा यज्ञबहादुर बोगटी र दार्चुलामा गणेश सिंह ठगुन्नाले मात्र जितेका छन्।
२८ निर्वाचन क्षेत्र रहेको कोशीमा एमालेले तीन सिट जिते पनि ३२ सिट रहेको मधेशमा निल बनेको छ। अघिल्लो चुनावमा एमाले मधेशबाट पहिलो दल बनेको थियो।
त्यस्तै, काठमाडौं उपत्यकाका १५ सहित ३३ सिट रहेको बागमतीमा पनि एमालेले खाता खोल्न सकेन। १८ सिट रहेको गण्डकीमा पनि एमाले निल भएको छ भने २६ सिट रहेको लुम्बिनीमा एउटा सिटमा चित्त बुझाएको छ।
एमालेले १० सिट रहेको कर्णालीमा एउटा सिट जितेको छ। १६ क्षेत्र रहेको सुदूरपश्चिममा भने तीन सिट जितेको छ।












