काठमाडौं । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बुधबार बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुनेछ।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो।
यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ।
एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ।
जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टी भित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ।












