काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन हुनेछ। बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रमका लागि सबै नवनिर्वाचित सांसदहरूलाई काठमाडौं उपत्यकाभित्र तोकिएको स्थानमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
रास्वपाका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास, सांसदहरूको भूमिका र कर्तव्य, पार्टीको नीति, दृष्टिकोण तथा संसदीय व्यवहारबारे जानकारी दिइनेछ। रास्वपाका अधिकांश सांसद पहिलोपटक संसद प्रवेश गर्न लागेकाले कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।
सूचनामा सहभागी सांसदहरूले कार सेयरिङ गर्नुपर्ने, मोबाइल फोन साइलेन्ट मोडमा राख्नुपर्ने तथा बैठक कक्षमा मोबाइल प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। यस्तै, अनावश्यक व्यक्तिलाई होटल वा प्रशिक्षणस्थलमा प्रवेश निषेध गरिएको छ।
ड्रेस कोड ‘बिजनेस क्याजुअल’ तोकिएको छ भने कार्यक्रमस्थलमा फोटो खिच्नसमेत निषेध गरिएको छ।
पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेपछि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई तयारी गराउन यो अभिमुखीकरण आयोजना गरिएको जनाएको छ।












