काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको पुष्टि भएको छ। करिब १ करोड ९० लाख नेपाली नागरिकको बायोमेट्रिक विवरण रहेको विभागको सिस्टम ह्याक भएसँगै वेबसाइट बन्द भएको छ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघि सिस्टममा समस्या देखिएको र अहिले पनि समाधान हुन नसकेको जानकारी दिएको छ। उनका अनुसार विभागका इञ्जिनियरहरूले समस्या पहिचान गर्न लागिपरे पनि ह्याकिङको कारण र क्षतिको अवस्था अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
केही दिन अगाडि मात्र विभागले मतदाता नामावलीमा अनलाइनबाटै नाम दर्ता गर्न सकिने नयाँ सिस्टम सार्वजनिक गरेको थियो। सो सिस्टम विकाससँगै डाटाको सुरक्षा र गोपनीयताबारे उठेका प्रश्नहरू हालको घटनासँग थप गम्भीर रूपमा जोडिएको देखिन्छ।
विभागले ह्याकको प्रकृति, सम्भावित डेटा जोखिम तथा पुनर्स्थापनाबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने बताइएको छ।












