काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।
पार्टीले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गर्दै उम्मेदवार बन्न आवेदन दिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो। रास्वपाले यसअघि उम्मेदवारीको लागि साउन ७ गतेसम्म आवेदन दिने समयसीमा निर्धारण गरेको थियो।
पार्टीका अनुसार उम्मेदवार बन्न कुल ९ जनाले आवेदन दिएका छन्। उनीहरूमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन्।
रास्वपाले ती नाममध्येबाट अन्तिम उम्मेदवार छान्न आन्तरिक प्रक्रिया अघि बढाएको जनाएको छ। पार्टीका अनुसार योग्य, सक्षम र जनताको भावना बुझ्न सक्ने उम्मेदवार छनोट गरिनेछ।













