काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य जाँचमा भिटामिन–डीको कमी देखिएको छ। सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा रगतको नमुना परीक्षणका लागि पठाइएको थियो।
रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादवसहितका स्वास्थ्यकर्मी पुगेका थिए। अस्पताल स्रोतका अनुसार रिपोर्टमा रविको भिटामिन–डी मात्रा कम देखिएको छ।
अस्पताल स्रोतले भने, “उहाँमा अन्य कुनै समस्या छैन, केवल भिटामिन–डीको कमी भएको देखियो। खानपान नमिल्दा र घाममा नबसेका कारण यस्तो हुनसक्छ।”
आज उक्त रिपोर्टसहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जाने तयारीमा छन्। चिकित्सकका अनुसार, भिटामिन–डीको कमीले हड्डी कमजोर पार्ने, रोगसँग लड्ने क्षमता घटाउने, हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या निम्त्याउन सक्छ।
रवि लामिछानेलाई तीन दिनअगाडि भैरहवा कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो। सोही दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो।












