रुपन्देही । संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीगृहको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखिएको छ।
रुपन्देही कारागार प्रशासनले बुधबार सूचना जारी गर्दै लामिछानेलाई राखिएको कोठामा सुरक्षासम्बन्धी व्यवस्थामा सुधार गरिएको जनाएको हो। कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार झ्यालमा पहिले राखिएको प्लाइउडबारे प्रश्न उठेपछि त्यसलाई हटाई जाली राखिएको हो।
लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा छन्। सुरुदेखि नै उनीलाई छुट्टै बन्दीगृहमा राखिएको र उक्त कोठामा निजी शौचालय, टेलिफोन र भेटघाट सुविधा उपलब्ध रहेको कारागार प्रशासनले जनाएको छ।
रुपन्देही कारागारको क्षमता २५० जना भए पनि हाल ६४० कैदीबन्दी रहेका छन्। क्षमताभन्दा तीन गुणा बढी बन्दी भए पनि कारागारले सीमित स्रोत साधन प्रयोग गरेर कानुन बमोजिमको सेवा सुविधा प्रदान गरिरहेको प्रशासनको भनाइ छ।













