काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताएका छन्।
आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएका हुन् ।
भेटमा लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताए । सांसद पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्रै निलम्बन हुन सक्ने प्रावधान रहेको पनि लामिछानेले सभामुखलाई स्मरण गराए ।
जवाफमा सभामुख घिमिरेले आफूले कानुन अनुसार नै जिम्मेवारी निर्वाह गरेको बताएका हुन् । सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने र सांसद पद निलम्बन गर्ने प्रवृत्ति गलत रूपमा विकास हुन सक्नेतर्फ आफू समेत चिन्तित रहेको उनले बताए । तथापि, आफूले कानुन बाहिर गएर केही नगरेको पनि सभामुख घिमिरेले बताए ।












