काठमाडौं । ज्येष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू प्रस्तुत गरेको छ।
महासंघका प्रतिनिधिमण्डलले अध्यक्ष निवास खुमलटारमा पुगेर प्रचण्डलाई भेट गरेका थिए। भेटका क्रममा महासंघले यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता प्रदान, तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागहरू राखेको थियो।
महासंघले विशेष रूपमा हाल २,५०० भन्दा बढी ज्येष्ठ नागरिक नागरिकता नपाएर राज्यका सेवा–सुविधाबाट वञ्चित भएको उल्लेख गर्दै यस विषयमा गम्भीर पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको थियो।
जवाफमा अध्यक्ष प्रचण्डले महासंघका मागहरूलाई न्यायसंगत र समयसापेक्ष रहेको बताउँदै आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए। “तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु,” उनले भने, “यी मागहरूलाई अगाडि बढाउन माओवादी केन्द्रबाट सकारात्मक पहल हुनेछ।”












