काठमाडौं। नेपाल प्रहरी साइबर ब्युरोले सामाजिक सञ्जाल र दूरसञ्चार माध्यम प्रयोग गरी नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काभ्रेको नमोबुद्धका २२ वर्षीय अशोक लामालाई प्राविधिक अनुसन्धानपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार पीडित नाबालिकाले आफ्नो चरित्र हत्या हुने किसिमका तस्बिर र भिडियो नेपाल टेलिकम मार्फत प्रसारण भएको भन्दै उजुरी दिएकी थिइन्। उजुरीपछि डिजिटल ट्र्याकिङ र प्राविधिक विश्लेषणका आधारमा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरिएको हो।
प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल प्लेटफर्ममार्फत व्यक्तिगत गोपनीयता उल्लंघन, चरित्र हत्या र साइबर दुर्व्यवहारका घटना बढिरहेको भन्दै यस्ता गतिविधिमा संलग्नमाथि निगरानी कडा बनाइएको जनाएको छ।
लामामाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले नाबालिकासम्बन्धी सामग्री प्रसारण वा साझेदारी गर्नु गम्भीर कानुनी अपराध भएकाले सचेत रहन आग्रह गरेको छ।












