काठमाडौं । नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारको नाममा गरिएको कथित बिमा ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पानोराम माउन्टेन ट्रेकका सञ्चालक पासाङ शेर्पालाई मंगलबार पक्राउ गरेको हो। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका घर भएका शेर्पाको कम्पनीसमेत उक्त ठगी प्रकरणमा संलग्न देखिएपछि उनलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
यसअघि पनि सिआइबीले यही प्रकरणमा संलग्न रहेको आरोपमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा। गीर्वाणराज तिमिल्सिना, विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह तथा रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरिसकेको छ।
उनीहरूमाथि ठगी, राज्यविरुद्धको अपराध तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।












