काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा अधिकारीले ७० लाख रुपैयाँ घुस लिएर राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ। आरोपअनुसार उनले एचके इन्टरप्राइजेज प्रालिविरुद्ध चलिरहेको राजस्व चुहावट छानबिनमा सहजीकरण गरेबापत उक्त रकम लिएका थिए।
अख्तियारका अनुसार कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले २०७९ साउन २४ गते तीन वटा चेकमार्फत रकम भुक्तानी गरेका थिए। आफ्ना कर्मचारीको नाममा चेक काटेर अधिकारीको खातामा रकम जम्मा गरिएको अनुसन्धानबाट खुलेको छ।
यस प्रकरणमा विकासकुमार चापागाईको नाममा ५० लाख रुपैयाँको चेक प्रयोग गरिएको दाबी गरिएको छ। बाँकी रकम व्यवस्थापनमा अन्य व्यक्तिसँग पनि मिलेमतो भएको अख्तियारको निष्कर्ष छ।
अनुसन्धानका क्रममा घुसबापत लिइएको रकमबाट भक्तपुरमा जग्गा खरिद गरिएको खुलेपछि उक्त जग्गा जफत गर्नसमेत माग गरिएको छ। आयोगले यसलाई अवैध आम्दानी लुकाउने प्रयासका रूपमा व्याख्या गर्दै सम्पत्ति शुद्धीकरणको दाबी पनि समावेश गरेको छ।
यस मुद्दामा देवेन्द्र केसीलाई २० लाख रुपैयाँ र रविन्द्र लामिछानेलाई ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ। देवेन्द्र केसी द कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर तथा शेयरधनी हुन्।
अख्तियारले तीनै जनाविरुद्ध घुस बराबरको सम्पत्ति शुद्धीकरणसम्बन्धी सजाय माग गर्दै विशेष अदालतबाट भ्रष्टाचारमा संलग्न सम्पत्ति जफत गर्न माग गरेको छ।












