काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई भोलि बुधबार प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयोग परिसरमा बिहान करिब साढे ११ बजे आयोजना हुने कार्यक्रममा निर्वाचित उम्मेदवारलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरिने निर्वाचन आयोका सचिव कृष्णबहादुर राउतले बताए।
आयोगका अनुसार प्रमाणपत्र लिन आउने उम्मेदवारहरूले सक्कल नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। आवश्यक विवरण बुधबार नै उपलब्ध गराउन पनि आयोगले आग्रह गरेको छ।
आयोगले यसअघि राजनीतिक दलहरूले बन्द सूचीबाट पठाएका नामहरू समावेशी क्लस्टरअनुसार रुजु गरेर सार्वजनिक गरिसकेको छ। सोही सूचीअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्, जसमा ८२ महिला छन्।
सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन्, जसमा ४८ महिला छन्। त्यसपछि नेपाली कांग्रेसका २०, एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ सांसद समानुपातिकबाट प्रतिनिधिसभामा पुगेका छन्।
प्रत्यक्षतर्फको नतिजासहित अब प्रतिनिधिसभाको २७५ सिट पूर्ण भएको छ। त्यसअनुसार रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ, जुन एकल बहुमतका लागि आवश्यक १३८ सिटभन्दा धेरै हो। नेपाली कांग्रेस ३८, एमाले २५, नेपाली कम्युनिष्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सिटमा सीमित भएका छन्।
यस परिणामसँगै संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्ने स्पष्ट भएको छ। रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अब संसद् बैठक र शपथग्रहणतर्फ अघि बढ्ने देखिएको छ।












