काठमाडौं। प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमतपछि नयाँ सरकार गठनको निर्णायक चरण अब संसदीय दलको नेतृत्व चयनमा केन्द्रित भएको छ।
प्रतिनिधिसभामा एकल बहुमतसहित १८२ सिट जितेको रास्वपाले संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई चयन गर्दैछ। तर, त्यसअघि रास्वपाले विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिबाट संसदीय दलका नेता चयन हुने व्यवस्थालाई संसदीय दलबाट नेता चयन गर्ने कायम गर्नुपर्नेछ ।
त्यसपछि संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ। पहिलो चरणमा ज्येष्ठ सदस्यले शपथ लिनेछन् भने त्यसपछि बाँकी सांसदहरूलाई शपथ गराइनेछ।
रास्वपाले संसदीय दलका नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। तर, चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनेगरी रास्वपाले आन्तरिक तयारी थालेको छ।
सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा रास्वपा नेताहरूले छलफल गरेका हुन्।
रास्वपाले प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेकाले सरकार गठनका लागि अन्य दलसँग गठबन्धन आवश्यक छैन। संविधान २०७२ पछिपहिलो पटक एउटै दलले स्पष्ट बहुमतसहित सरकार गठन गर्न लागेकाले यसलाई नयाँ राजनीतिक अध्यायका रूपमा हेरिएको छ।












